सुर्खेत, ४ पुष (जागारण) । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक बर्षको पहिलो चार महिनामा ४ सय ९४ फरार प्रतिवादी पक्राउ गरेको छ ।
प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४ सय ९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।
कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ । यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा अपराध नियन्त्रणका क्षेत्रमा धेरै प्रगती भएको बताउनुभयो ।
पक्राउ पर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका छन् । प्रहरी नायब उपरीक्षक बमका अनुसार पक्राउपर्ने फरार प्रतिवादीमा सुर्खेतका १ सय ५७, सल्यानका १ सय ३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन् ।
उहाँका अनुसार फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३ सय ७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ ।