पंख बहादुर शाही ।
सुर्खेत, ५ पुष (जागरण) । कर्णालीको स्वास्थ्य क्षेत्रमा भौतिक संरचना बनेपनि सेवा क्षेत्रमा सुधार आउन नसेको सरोकारवालाहरुले बताएका छन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरले संघीयतापछि भौतिक संरचनामा केही सुधार आउन थालेपनि सहज रुपले स्वास्थ्य सेवा पाउन समस्या रहेकोे बताएका हुन ।
कर्णालीमा विशेषज्ञ डाक्टरहरु आउन नमान्ने तथा औषधी अभाव हुने गरेको छ जसले नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था छ ।
विगतका सिटामोल नपाएर मृत्युवरण हुनुपर्ने बाध्यता साविक कर्णालीका नागरिकहरुलाई थियो । देश संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा केही सुधार भएपनि नागरिकहरुले पाउनुपर्ने सेवा सुविधा अझै पनि पुर्ण रुपमा पाउन सकिरहेका छैनन ।
सदरमुकाम क्षेत्रहरुमा अबस्था बदलिए पनि ग्रामिण क्षेत्रमा अझैपनि सिटामोल पाउन सक्ने अबस्थाबाट वञ्चित रहनुपर्ने बाध्यता रहेको जुम्लाको तिला गाउँपालिकाका एकजना शिक्षक कमल भट्टाईले कर्णाली रैबारलाई बताउनुभयो ।
अझै पनि थुप्रै स्थानीयतहमा सडक सञ्जाल जोडिन सकिरहको छैन् । जसका कारण औषधि ढुवानी लगाएतका विविध समस्याहरु रहेको लामो समय स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएका पत्रकार कालिबहादुर थापाको भनाई छ ।
यता, स्थानीय सरकारहरुले भने भौगोलिक विकटता लगायतका कारणले ग्रामिण क्षत्रेका नागरिकहरु पुर्ण रुपमा स्वास्थ्यको पहुँचमा ल्याउन नसकिएको बताएका छन ।
डोल्पा सदरमुकाम देखि २२ कोष टाढा रहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष अध्यक्ष दत्तबहादुर शाहीले नागरिकको स्वास्थ्य सेवा प्रति गम्भिर भएर लागिपरेको भएपनि प्राकृतिक समस्या रहेको बताउनुभयो ।
मुगुका स्थानीय सरकारहरुले भने सबै नागरिकहरुलाई सडक सञ्जालमा जोडेर स्वास्थ्यको पहुँचमा पु¥याउन लागेका बताएका छन ।
छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्री प्रसाद शर्माले सडक सञ्जाल जोडिएपछि स्वास्थ्यको पहुँचमा नागरिक पुग्ने दाबी गर्नुभयो ।
यस्तै, स्वास्थ्य क्षेत्रको विकासमा पहिलो प्राथामिकता राखिएको जुम्ला कनका सुन्दरी गाउँपालिका अध्यक्ष नरबिर शाहीले बताउनुभयो ।
विशेषगरी हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लाका ग्रामीण क्षेत्रहरुमा लामो समयदेखि सहज स्वास्थ्यको पहुँचमा नागरिक छैनन ।
अहिले स्वास्थ्यको अधिकार स्थानीय तहलाई दिएको छ । संविधानले नै स्वास्थ्यको हकको व्यवस्था गरेको छ । तर कर्णालीका नागरिकहरु अझै सहज रुपले स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन ।