जनता आवास कार्यक्रम अन्तरगतका घरहरु निर्माणमा ढीलाई

खड्क सुनार ।
मुगु, ७ पुष (जागरण) । मुगुमा जनता आवास कार्यक्रम अन्तरगतका घरहरु निर्माणमा ढीलाई भएको छ ।
नेपाल सरकारले विगत केही वर्षदेखि गरिव, विपन्न, दलित वस्तीहरूलाई अनुदानमा दिँदै आएको जनता आवास कार्यक्रमअन्तर्गत मुगु जिल्लामा संचालनमा आएका आवास घर बजेट नहुँदा अलपत्र परेका हुन् ।
करिब ९० प्रतिशत घर निर्माण भइसक्दा पनि सरकारले समयमै रकम नदिँदा जनता आवासका घर अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् । समयमै रकम नपठाउँदा करिब ३५० दलित घर परिवारका छानो हाल्न पनि पाएका छैनन् ।
चिसो बढ्दै गएपछि आवास अभावमा दलित समुदाय चिसोमा कठ्याग्रीन बाध्य छन ।
आर्थिक वर्ष २०७५÷०७६ देखि संचालन गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मुगु जिल्लामा ३५० घर धुरीले यो कार्यक्रम पाएका हुन् ।
त्यसबेला मुगु जिल्लामा जनता आवास कार्यक्रमका लागि कुल बजेट नौ करोड रुपैयाँ अनुमान गरिए तापनि नेपाल सरकारबाट तीन करोड रुपैयाँ मात्र विनियोजन भएको र बाँकी छ करोड रुपैयाँ अपुग भएको छ ।