सांसदहरुको सुझावका आधारमा बजेट ल्याउने प्रदेश सरकारको प्रतिवद्धता

सुर्खेत, १६ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सांसदहरुको सुझावअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रतिवद्धता जनाएको छ ।
सांसदहरुले आफुहरुका सुझाव सरकारले कार्यान्वयन नगर्ने र मन्त्रीहरुले आफूखुसी बजेट ल्याउने गरेको गुनासो गरेपछि सरकारले यस्तो प्रतिवद्धता जनाएको हो ।
आजको संसद वैठकमा पनि प्रि–बजेट माथिको छलफलमा सांसदहरुले आफूहरुका सुझाव कार्यान्वयन गर्न माग गरेका थिए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यसपटक ल्याउन लागिएको बजेट सांसदहरुको सुझावका आधारमा तयार पार्ने प्रतिवद्धता जनाउनुभयो ।
आजको वैठकमा सांसदहरुले पुर्वाधार निर्माण, रोजगारी सिर्जना, जडिबुटीको प्रशोधन र जलविद्युतमा लगानी गर्ने गरी आगामी बजेट ल्याउन सुझाव दिए ।
वैठकमा सभामुख राजबहादुर शाहीले संसदको अपेक्षाअनुसार सरकारलाई आगामी वर्षको बजेट ल्याउन सुझाव दिनुभयो ।