काठमाडौं महानगरले कर्णालीमा पर्यटक भित्र्याउन सहकार्य गर्ने

खड्क सुनार ।
मुगु, १२ पुष (जागरण) । काठमाडौँ महानगरप्रमुख विद्यासुन्दर शाक्यले कर्णालीमा पर्यटक भित्र्याउन मुगुको छायाँनाथ नगरपालिकासँग सहकार्य गरिने बताउनुभएको छ ।
मुगु पुग्नुभएका शाक्यले छायानाथ रारा नगरपालिका जनप्रतिनिधिहरुसँगको छलफलमा काठमाडौँ घुम्न आउने पर्यटकलाई रारासम्म पु¥याउन सहकार्य हुनुपर्ने बताउनुभएको हो ।
छिमेकी जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको काठमाडौँ महानगरपालिकाले मुगुको छायानाथ रारासँग पनि निकट भविष्यमा भगिनी सम्बन्ध गाँस्ने शाक्ले बताउनुभयो ।
छायानाथ रारा नगरप्रमुख हरिजंग शाहीले काठमाडौँ महानगर र छायानाथ राराबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
नगरप्रमुख शाक्यले छायानाथ रारा नगरपालिकाका जनप्रतिनिधिहरुलाई काठमाडौँ महानगरको औपचारिक भ्रमणको निम्तो दिनुभएको छ ।