श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितकाे ‘इएलएमएस’ परियोजना कर्णालीमा शुभारम्भ


सुर्खेत, १२ पुस ।
नेपालको निजी क्षेत्रका विभिन्न संस्थाहरुसंगको सहकार्यमा श्रम बजारलाई व्यवस्थित बनाउने योजनासहितको ‘इएलएमएस’ परियोजनाको कर्णाली प्रदेशमा शुभारम्भ गरिएको छ ।

ब्रिटिस काउन्सिलको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको उक्त परियोजनाको आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । परियोजनाको प्रमुख कार्यहरु व्यवसायिक वर्गिकरण स्तरको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्र्नु रहेको निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एवं इएलएमएस प्रोजेक्ट कोअडिनेसन कमिटि, सदस्य निकोलस पाण्डेले बताए । यस्तै परियोजनाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने पनि पाण्डेले बताए । उनका अनुसार परियोजना कार्यन्वयन हुने क्षेत्र कृषि, निर्माण र पर्यटन रहने छन् । परियोजनाको कार्य अवधि १ बर्ष ४ महिना र कूल बजेट रू. १७ करोड ९० लाख ११ हजार रहेको पाण्डेले जानाकरी दिए । यस परियोजनाले निजीक्षेत्रको निर्माण, कृषि र पर्यटन क्षेत्रको समग्र सीप पहिचान गरी आवश्यक सीपलाई एक रुपता काम गरी नेपाल सरकारलाई सो अनुरुप निति, योजना तथा कार्यक्रम बनाउन प्रेरित गर्ने पाण्डेको भनाइ छ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले श्रम बजारका सूचनाहरुलाई व्यवस्थित बनाउनु परियोजनाको प्रमुख उद्देश्य रहेको बताए । उनले सबै निजी क्षेत्रको महत्वपूर्ण र उपलब्धी मुलक कार्यक्रम भएकोले सबैले सहयोग गरेमा मात्र सफल हुने बतए ।

यस अघि परियोजना कार्यान्वयनका विषयमा चार साझेदार संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरुबीच राजधानीमा गत मंसिर तीन गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही बमोजिम सातै प्रदेशमा औपचारिक शुभारम्भ कार्यक्रमहरु भैरहेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा भएको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहिले विकासका कार्यलाई आधुनिकता दिन दक्ष कामदार उत्पादन गर्न राष्ट्रको लक्ष्य हासिल गर्न सबैै निजी क्षेत्रले सरकारलाई सहयोग गरेमा मात्र सम्भव रहेको बताए । निजी क्षेत्र सरकारको विरोधि हैन सहयोगी बनेर समृद्घ नेपालको निर्माण गर्न सकिने सभामुख शाहीको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले हाल रोजगारदाताले श्रमिक र श्रमिकले रोजगारी नपाउने अवस्था रहेकोमा यो परियोजनाबाट सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई सरकारले सुरक्षाको प्रत्याभूति गर्नूपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कमान बहादुर खड्काले श्रम बजारलाई व्यवस्थित गर्न उद्योग दक्ष जनशक्ती उत्पादन गर्न र निजी क्षेत्रलाई दक्ष कामदार उत्पादनमा सरकारले सहयोग गरेमा थप कार्यक्रम थप सफल हुने विश्वास व्यक्त गरे । त्यस्तै होटल संघ नेपालका केन्द्रिय सदस्य जनक सिंह ठकुरीले विदेशीने युवालाई रोकेर सीपयुक्त बनाउन सरकार र निजी क्षेत्रले काम गर्न सकेमात्र समृद्धि सम्भव हुने बताए ।