सुर्खेत विमानस्थल विस्तारः जग्गा अधिग्रहण प्रक्रिया रोकियो

सुर्खेत, १६ पुष (जागरण) । स्थानीयको विरोधपछि सुर्खेत विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया तत्कालका लागि रोकिएको छ ।
स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणका लागि थालिएको लगत संकलन कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । पुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो ।
विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि लगत संकलनको काम तत्कालका लागि रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले बताउनुभयो ।
उहाले स्थानीयहरुसँग छलफलपछि मात्रै लगत संकलनको काम अगाडि बढ्ने जानकारी दिनुभयो ।
विमानस्थलको दिगो विकासका लागि सरकारले विकल्प खोज्नुपर्ने स्थानीयको माग छ । विमानस्थल विस्तारको नाममा बस्तीलाई नै सखाब गर्न खोजेको उनीहरुको भनाइ छ ।
सहमतिको वातावरण तयार गर्नका लागि स्थानीयसँग वार्ता गर्ने तयारी भइरहेको पन्थीले बताउनुभयो ।
हाल एक हजार २५५ मिटर रहेको धावनमार्ग विस्तार गरेर एक हजार ५५५ मिटर बनाइने छ । ३० विघा जग्गा अधिग्रहण गरेर ३०० मिटर धावनमार्ग बढाइने गरी काम थालिएको थियो । तर, स्थानीयले उक्त क्षेत्रमा विद्यालय, क्याम्पसलगायतका भौतिक संरचना भएकाले विस्तार नगर्न र अन्य ठाउँमा विकल्प खोज्न माग गरेका छन् ।