बुद्धी पुन ।
सल्यान, १९ पुष (रेडियो राप्ती) । सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ ।
घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
वन कार्यालयको परिसर भित्रमा उद्धार केन्द्र स्थापना गरिएको हो । घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढंगले गर्ने र निकोभएपछि पुनः वासस्थानमा छोड्ने गरी केन्द्र स्थापना गरिएको हो ।
डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयका अनुसार गत बर्षमा मात्रै करिब २ दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो ।