समुदायस्तरमा किशोर किशोरीमैत्री कक्ष बनाउने तयारी


जागरण
सुर्खेत, २३ पुस ।
सुर्खेतको भेरीगंगा र गुर्भाकोट नगरपालिकाका दश वटा स्वास्थ्य संस्थामा किशोर–किशोरीमैत्री कक्ष र पाँचवटा विद्यालयहरुमा किशोर–किशोरीमैत्री सूचना कक्ष बनाइ सेवा सुरु गर्ने तयारी थालिएको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ दचिल्ड्रेनको साझेदारी तथा भेरीगंगा र गुर्भाकोट नगरपालिकाको समन्वयमा संचालन भएको नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तरर्गत किशोर किशोरीमैत्री कक्ष बनाउन लागिएको हो । किशोर किशोरमैत्री कक्ष निर्माणका लागि टेलिभिजन, तौल र उचाइ नाप्ने मेसिनका साथै प्रजनन स्वास्थ्य सम्बन्धि बिभिन्न अध्ययन सामग्रीहरु उपलब्ध भएकाछन् । स्वास्थ्य संस्थाले पनि किशोरका लागि एक जना पुरुष कर्मचारी र किशोरीका लागि एक जना महिला कर्मचारी सम्पर्क ब्यक्ति तोकी उपलब्ध भएका सामग्रीहरुरुलाई एउटा छुट्टै कोठामा ब्यबस्थापन गरेका छन् । यसैगरी गुर्भाकोट नगरपालिका वडा नं ८ मेहेलकुनामा रहेको अस्पतालमा प्रसुती केन्द्रका लागि समेत विभिन्न सामग्रीहरु उपलब्ध गराएको समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका अधिकृत खगेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्था नजिकका माध्यामिक विद्यालयमा बिभिन्न खेल सामग्रीका साथै प्रजनन स्वास्थ्य सम्बन्धि अध्ययन सामग्रीहरु उपलब्ध गराइएको छ । विद्यालयहरुमा पनि किशोर किशारीका लागि एक एकजना शिक्षकहरुलाई सम्पर्क ब्यक्ति तोकिएको र किशोर किशारी मैत्री सूचना कक्ष संचालनगरी परामर्श सेवा उपलब्ध गराउन थालिएको शर्माले बताउनुभयो ।