विरेन्द्रनगरका १, २ र १३ नं. वडामा मेलमिलाप केन्द्र स्थापना

जागरण

सुर्खेत, २४ पुस ।
विरेन्द्रनगर नगरपालिकाले वडा नं १, २ र १३ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।
वडामा हुने विवादहरु मेलमिलाप मार्फत समाधान गरी सामुदायिक मेलमिलाप एवं शान्ति कायम गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको हो । नगरपालिकाका १६ वटै वडामा छ–छ जना मेलमिलाप कर्ता छनौटगरी उनीहरुलाई तालिम दिइएको उपप्रमुख एवं न्यायिक समिति संयोजक मोहनमाया ढकालले जानकारी दिनुभयो । सबै वडामा मेलमिलाप कर्ता छनौट गरिसकिएको र बाँकी वडामा पनि छिट्टै मेलमिलाप केन्द्र स्थापना गरिने उपप्रमुख ढकालले बताउनुभयो । न्यायिक समितिको कार्य सम्पादनमा सहजता ल्याउन साथै न्यायमा सहज पहुँच स्थापनागरी सामुदायिक मेलमिलाप र शान्ति कायम गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार वडामा आउने विवादहरु मेलमिलापका माध्ययमबाट समाधानका लागि मेलमिलाप केन्द्रहरुले काम गर्नेछन् । न्यायिक समितिमा आएका मेलमिलाप गर्नुपर्ने विवादसमेत सम्बन्धित वडाका मेलमिलाप केन्द्रमा पठाइने ढकालले बताउनुभयो । घरायसी विवाद, जग्गा सम्बन्धी, ध्वनी प्रदूषण, विवाह दर्ता जन्म दर्ता नगरिदिएको, साँध सिमाना मिचिएको, छाडा पशुले बाली नाली नष्ट गरेका जस्ता विवादहरु मेलमिलापबाट समाधान गर्ने अधिकार न्यायिक समितिलाई छ । यस्तै न्यायिक समितिलाई मेलमिलाप गराउने र न्यायिक निरोपण गर्ने अधिकार रहेको छ । हाल विरेन्द्रनगरको न्यायिक समितिमा ज्याला मजदुरी ठगी गरेको, जग्गा विवाद, साँध सिमाना मिचिएको, घरायसी विवाद लगायत बढी आउने गरेको र न्यायिक समितिकी संयोजकसमेत रहनुभएकी ढकालले बताउनुभयो ।