प्रदेशस्तरीय लगानी सम्मेलन आगामी बैशाखमा गरिने

सुर्खेत, २५ पुष (जागरण) । कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन आगामी बैशाखमा गर्ने तयारी गरिएको छ ।
आज वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ औँ बैठकले कर्णालीमा २०७८ बैशाखमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
प्रदेश योजना आयोगका सदस्य दिपेन्द्र रोकायले कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरूको आकर्षण बढाउन प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्न लागिएको कर्णाली रैबारसँग बताउनुभयो ।
परियोजना बैंकको काम सकिएपछि लगानी सम्मेलन आयोजना हुने भएकाले कर्णालीमा सम्मेलन आयोजना गर्न योजना आयोगले तयारी शुरु गरेको उहाले बताउनुभयो ।
उहाका अनुसार नेपाल सरकारले विसं २०७६ मा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा कर्णालीबाट ६७ वटालाई आयोजना समावेश गरिएको थियो ।
बैठकले कर्णाली प्रदेश विकास परिषद्को संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकाया तथा कर्णाली प्रदेशस्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिएको छ ।