सल्यानमा लकडाउन पछि घरेलु तथा साना उद्योग व्यवसायी बढे

बुद्धी पुन ।
सल्यान, २५ पुष (रेडियो राप्ती) । सल्यानमा लकडाउन पछि घरेलु तथा साना उद्योग व्यवसाय बढेका छन् ।
कोरोना संक्रमणपछि गरिएको लकडाउन खुलेसँगै जिल्लामा उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा पछिल्लो समय व्यवसाय दर्ता गर्ने सेवाग्राही बढेको कार्यालयले जनाएको छ ।
अहिले दिनहुँ जसो सेवाग्राहीहरु फर्म दर्ताका लागी आउने गरेको छन् । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ सय २८ जनाले फर्म दर्ता गरेका छन् । जसमा कृषि तथा पशुपंक्षी र वन तर्फ मात्रै १ सय ८४ वटा फर्म दर्ता भएका छन् । जसअनुसार निजी फर्म २ सय २४ र साझेदारी फर्म ४ वटा रहेका छन् ।
जिल्लाका दश वटै स्थानिय तह सँगको समन्वयमा स्थानियको मागको आधारमा सिपमुलक तालिम सञ्चालन गर्ने गरी तयारी गरिरहेको लघु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी धुर्व बहादुर खत्रीले जानकारी दिनुभएको छ ।