कर्णालीका युवाहरु कालिज पालन व्यवसाय तर्फ आकर्षित

सुर्खेत, २६ पुष (जागरण) । कर्णालीका युवाहरु पछिल्लो समय कालिज पालन व्यवसाय तर्फ आकर्षित भएका छन ।
मनग्य मुनाफा हुन थालेपछि प्रदेशका विभिन्न जिल्लाहरुमा कालिज पालन व्यवसायतर्फ आकर्षित भएका हुन ।
सुर्खेतमा शुरु गरिएको कालिज पालन व्यवसायले राम्रो आम्दानी लिन थालेपछि जुम्लामा पनि कालिज पालन व्यवसाय सुरु गरिएको छ ।
पर्यटक प्रवर्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन सुरु गरिएको हो ।
जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार महालक्ष्मी कालिज फर्म खोलेर व्यवसाय सुरु गरिएको छ ।
स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको पाण्डेले बताउनुभयो ।
जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको फर्मले जनाएको छ ।