राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नेकपा नेता शर्माको प्रस्ताव

सुर्खेत, २८ पुष (जागरण) । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गर्नुभएको छ ।
सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि भने केही सीमित राजनीतिक दलको हातमा परेको भन्दै नेता शर्माले यस्तो प्रस्ताव गर्नुभएको हो ।
आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले संयुक्त मोर्चालाई कम्तीमा दस वर्ष टिकाउने र त्योबाट नै स्थायीत्वका लागि काम गर्नुपर्ने बताउनुभएको हो ।
विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलका केही नेताहरुले मात्र लिँदा अहिले संविधान विरोधी कदम व्यहोर्नु परेको उहाले बताउनुभयो ।
प्रधानमन्त्रीले असंवैधानिक, विनासकारी र राष्ट्रघाती कदम चाल्दा संविधान र राष्ट्रियता खतरामा परेको उहाको भनाइ छ ।
कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टी विभाजन गर्ने कुनै बाटो नभएको नेता शर्माको तर्क छ ।