जिल्ला प्रशासन कार्यालय मुगुमा स्तनपान कक्ष

खड्क सुनार ।
मुगु, ६ माघ (जागरण) । जिल्ला प्रशासन कार्यालय मुगुमा स्तनपान कक्ष र महिला–पुरुष छुट्टाछुट्ट शौचालय स्थापना भएका छन् । जिल्लाका ४ वटा स्थानीय तहले यी सेवा स्थापना गरेका हुन् ।
प्रशासन कार्यालयमा केही स्थानीय तहले पर्खाल बनाइदिएका छन् त केही स्थानीय तहले सेवाग्राहीको विश्राम कक्ष र टिभीसमेत जडान गरिदिएका छन् ।
पछिल्लो समय कामका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्रहीलाई सहज भएको छ । दिनभरि कुर्नुपर्ने अवस्था अहिले हटेको छ ।
पूर्वप्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाको पहलमा जिल्ला प्रशासनको पूर्वाधार संरचना निर्माण भएका हुन् ।
जिल्ला प्रशासन मुगुलाई स्तनपान कक्ष र सेवाग्राहीका लागि विश्राम कक्ष निर्माण गर्न खत्याड गाउँपालिकाले ४ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ ।
त्यस्तै, सोरु गाउँपालिकाले डिजिटल बोर्ड,, टिभी र वाटर डिस्पेन्सेरका लागि ३ लाख २० हजार रुपैयाँ र मुगुम कार्मारोङ गाउँपालिकाले महिला र पुरुषको छुट्टाछुट्टै शौचालय भवन र पर्खालका लागि ४ लाख ३७ हजार रुपैयाँ रकम सहयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनुभएको छ ।