मालपोतमा काम नभएको भन्दै नाराबाजी, ११ दिनदेखि काम रोकियो (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, ८ माघ (जागरण) । मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीले नाराबाजीसहित प्रदर्शन गरेका छन् । काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीले बुधवार छिटो–छरितो सेवाको माग गरेका हुन् ।
एक दिनमा हुने काम लिएर गएका सेवाग्राहीको एक सातासम्म पनि काम नभएकाले आफू आन्दोलित हुनु परेको उनीहरूले बताएका छन् ।
दैनिक लाइन बस्ने र काम नभएर फर्कनु परेपछि सेवाग्राहीले मालपोत प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
सेवाग्राहीले स्थानीय प्रशासन र प्रदेश सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए ।
सरोकारवाला निकायको अनुगमन तथा निर्देशन नहुँदा सेवा सुधार नभएको भन्दै उनीहरूले सम्बन्धित
निकायको ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको बताए । प्रदेश सरकारले पनि मालपोतको अस्तव्यस्त सेवा सुधारमा चासो नदिएको सेवाग्राहीको आरोप छ । पैसा र पहुँचवालाहरूको काम दुई घण्टाभित्रै हुने गरे पनि आम नागरिकहरू भने महिना दिन कार्यालय धाउँदा समेत काम हुन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाग्राहीको संख्या बढ्दो र कर्मचारी संख्या न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको मालपोत कार्यालयले जनाएको छ ।
सेवाग्राहीले ११ दिनदेखि काम नभएको बताएका छन । सुन्नुहोस अडियोमा