सुर्खेत, १७ जेठ (जागरण) । सुर्खेतका स्थानीय तहले आर्थिक वर्ष सकिन डेढ महिनामात्र बाँकी रहँदा मुस्किलले ५० प्रतिशत रकम खर्च गरेका छन् ।
जिल्लाका ९ स्थानीय तहले कानुन, संरचना र जनशक्ति अभावले वैशाख मसान्तसम्म केन्द्रीय अनुदानतर्फको ४९ दशमलव ५३ प्रतिशतमात्र रकम खर्चिएका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार अधिकांश स्थानीय तहले कर्मचारीको तलब र प्रशासनिक खर्चमा मात्र रकम खर्चेका छन् ।
संघीय सरकारबाट अनुदानबापत सुर्खेतका स्थानीय तहमा तीन अर्ब २६ करोड ३८ लाख २३ हजार वार्षिक रकम विनियोजन गरिएको थियो ।
त्यसमध्ये अन्तिम चौमासिक बापतको रकम चैत पहिलो साता सबै स्थानीय तहलाई निकासा दिइएको थियो ।
वैशाख मसान्तसम्म एक अर्ब ६१ करोड ६७ लाख ४ हजार ५ सय ९ रुपैयाँमात्र स्थानीय तहले खर्च गरेको प्रमुख कोष नियन्त्रक खिमबहादुर विष्टले बताउनुभयो ।