पोषण सुधारका लागि कार्यशाला


सुर्खेत, ७ माघ ।
पोषण सुधारका लागि सुर्खेत जिल्लाका ९ वटै स्थानीय तहका कृषि तथा पशु शाखा प्रमुखहरुसंगको दुई दिने कार्यशाला बुधबारबाट वीरेन्द्रनगरमा सुरु भएको छ ।
सुआहारा कार्यक्रमसंगको सहकार्यमा स्थानीय साझोदार समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा पालिकाहरुमा पोषणको स्थिति सुधारका लागि छलफल हुनेछ । पालिकाहरुले बनाउने कार्यक्रमहरु हजार दिनका आमा तथा बच्चाको पोषण सुधारमा केन्द्रीत गर्नका लागि कार्यशालाको आयोजना गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक रेशम बहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार कार्यशालाबाट पालिकाहरुमा पोषणमा टेवा पुग्ने खालका कार्यक्रम बनाउका लागि कार्ययोजना तयार गरिनेछ । साथै कृषि, पशु तथा खाध सुरक्षा सम्बन्धि विद्यमान ऐन कानुनका बारेमा अभिमूखीकरण गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको चन्दले बताउनुभयो । कर्णाली प्रदेशमा हाल कुपोषणको दर उच्च रहेको छ । कुपोषणबाट हुने होचा पुड्काको दर कर्णालीमा ५४ दशमलव ५ प्रतिशत रहेको छ । पोषणस्थिति सुधारका लागि स्थानीय तथा प्रदेश सरकारसंगको सहकार्यमा सुआहारा कार्यक्रमले कर्णालीका विभिन्न जिल्लामा काम गरिरहेको छ ।