रोग लुकाउँदा समस्या बल्झिँदै

मुुगु, १७ जेठ (जागरण) । मुगुमा २० देखि ६० बर्षका अधिकांश महिलामा पाठेघर खस्ने समस्याले ग्रसित छन् । रोगका बारेमा खुलेर स्वास्थ्यकर्मीलाई भन्न लाजले महिलाहरु उपचार गराउन पनि नजाँदा थप समस्या भएको हो ।
सानै उमेरमा बच्चा जन्माएका, धेरै सन्तानलाई जन्म दिएका र आफ्नो समस्यालाई लुकाउने महिला पाठेघर खस्ने समस्याबाट बढी पीडित छन् ।
ग्रामीण भेगका २० देखि ६५ बर्ष उमेर समुहका करिब ५० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको नागरिक अगुवाहरुको भनाई छ ।
स्वास्थ्य संस्था नजिकै बसेका महिलापनि समस्या लुकाएर बसिरहेका छन् । आफुले धेरै महिलालाई समस्या लुकाएर नबस्न आग्रह गर्दा पनि महिलाहरु लाजले गर्दा कुरै नसुन्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका पार्बती बुढाले बताउनुभयो ।