शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका विद्यालय बन्द

सल्यान, १२ माघ (जागरण) । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ ।
बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको नगर प्रमुख गोविन्द पुनले जानकारी दिनुभयो ।
नगर प्रमुख पुनका अनुसार प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको हो । तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताउनुभयो ।
तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत ल्याइएको छ ।