सुर्खेत, १३ माघ (जागरण) । गृहमन्त्री रामबहादुर थापाले निर्वाचन हुँदैन की भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा परेको रिटमाथि बहस ढिलो भए सरकारले तोकेको मध्यावधि निर्वाचन केही ढिलो हुन सक्ने संकेत गर्नुभयो । तर निर्वाचन हुदैन की भनेर आशंका नगर्न उहाले आग्रह गर्नुभएको हो ।
आज कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाले रिटमाथि बहस लम्बिएकाले निर्वाचन केही पर सर्न सक्ने भन्दै निर्वाचन भने भएरै छोड्ने दाबी गर्नुभयो ।
ओली समूहका स्थायी समिति सदस्यसमेत रहेका थापाले सरकारले गरेको निर्णयलाई अदालतले सदर गर्ने दाबी गर्नुभएको छ ।
अब हुने निर्वाचनबाट देश स्थायीत्वतिर जाने भन्दै देश विकासमा सरकार रफ्तारले अगाडी बढेको बताउनुभयो । तर केही प्रतिगामी तत्वहरु सल्बलाएको थापाले बताउनुभयो ।
माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) फुटको पक्षमा भएको आरोप उहाँको छ ।
त्यस्तै कालीकोट जिल्ला सदरमुकाममा गरिएको सभालाई सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक अस्थिरता पैदा गरिएको बताउनुभएको छ ।