कालिकोट, १७ जेठ (जागरण) । कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४ राचुली गाउँलाई नेपालमै पहिलो मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको छ ।
नयाँ संरचना अन्र्तगत कालीकोटको राँचुली नेपालमै पहिलो मानव अधिकार मैत्री गाउँ घोषणा गरिएको हो । ‘घरघरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने नाराका साथ संघीय संरचनापछि तिलागुफा नगरपालिका ४ राँचुली गाउँले मानव अधिकारका विभिन्न २० वटा सूचक पूरा गरेको जनाउँदै औपचारिक रुपमा मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको हो ।
३ सय ६२ घरधुरी रहेको राँचुलीमा एक सयको संख्यामा दलित घरधुरी छन् भने करीब २ हजार जनसंख्या छ ।
तिलागुफा नगरपालिका वडा नं ६ जुविथाका मनवीर सुनारलाई १० वर्षअघि चुलो छोएको आरोपमा कुटपिट गर्दा मृत्यु भएको थियो ।
गत मंसिर १८ गते पहिलो बालमैत्री गाउँ घोषणा गरिएको राँचुलीले बालबिवाह मुक्त, बालश्रम मुक्त, खुला दिसा मुक्त तथा पूर्ण सरसफाई युक्त, अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोप युक्त, स्वास्थ्य संस्थाबाट निस्शुल्क औषधी प्राप्त गरेको, सबै घरमा करेसाबारी भएको, धूँवा रहित चूलो बनाएको जनाउँदै मानव अधिकार मैत्री घोषणा गरिएको वडाध्यक्ष खड्कराज शाहीले बताउनुभयो ।
उहाँका अनुसार मद्यपान र धुम्रपानको ब्यवस्थापन भएको, विकास प्रक्रियामा पछि परेका ब्यक्ति, समुदायको सहभागिता सुनिश्चित गरिएको, सबै प्रसूति आमाहरु बच्चा जन्माउन स्वास्थ्य संस्था जाने गरेको, मानव अधिकार शिक्षा प्रदान गरिएको बस्ती पनि बनाइएको छ ।
सबै खालको विभेदको अन्त्य भएको नमूना गाउँको रुपमा विकास गरेकाले राँचुलीबासीबाट अन्य गाउँ तथा नगरले सिक्नुपर्ने जिल्ला समन्वय समितिका उप प्रमुख लक्ष्मी विष्ट नेपालीले बताउनुभयो ।
राष्टिय मानव अधिकार आयोग जुम्लाका प्रमुख रमेशकुमार थापाले सबै अधिकार सबैका लागि भन्ने मानव अधिकारको सिद्धान्तलाई राँचुलीबासीले अबलम्वन गरेको बताउँदै कसैको पनि अधिकार हनन् नहुने गाउँको रुपमा चिनिन सक्नुपर्ने सुझाव दिनुभयो ।