सुर्खेत, १४ माघ (जागरण) । सुर्खेतका सरोकारवालाहरुले जातिय भेदभावका घटनामा प्रभावित व्यक्तिहरुको न्यायका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतको आयोजनामा आज सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी सरोकारवालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा सहभागीहरुले जातिय भेदभावका घटनामा प्रहरीले सहजै उजुरी लिन नमान्ने गरेको गुनासो गरेका छन ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले भने प्रहरीले थाहा पाएका सबै घटनामा प्रहरीले उजुरी लिने बताउँदै विगतमा त्यस्तो परेको भए आगामी दिनमा त्यस्तो नहुने प्रतिबद्धता गर्नुभयो ।
उहाँले जातिय भेदभावका घटनामा जिल्ला प्रहरी कार्यालयले शून्य सहनशीलताका साथ अनुसन्धान गर्ने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्द्धेलले जातिय भेदभाव अन्त्य गर्ने खालका कार्यक्रम बनाउन स्थानीय तहहरुसंग समन्वय गर्ने बताउनुभयो ।
त्यस्तै समन्वय समितिकी उपप्रमुख देबि भट्टाइले जातिय भेदभाव मानव कलंकका रुपमा समाजमा रहेको बताउँदै यसको अन्त्यका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।