महिलाहरुले सुरु गरे सामूहिक खेती

सुर्खेत, १४ माघ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ नं वडा का महिलाहरुले सामूहिक खेती सुरु गरेका छन् ।
स्थानीय महिलाहरुले १ विगाह जग्गा भाडामा लिएर सामूहिक खेती सुरु गरेका हुन् ।
उनीहरुलाई वडा कार्यालयले सहयोग गरेको छ । यसैबीच वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उक्त सामूहिक खेतीको अनुगमन तथा उद्घाटन गर्नुभएको छ ।
आज उद्घाटनमा पुग्नुभएका प्रमुख सुवेदीले मेहेनतकासाथ काम गरी लाभ लिन सुझाव दिनुभयो ।
लाटिकोइलीमै कृषि अध्ययन हुने विद्यालय भएकाले सामूहिक खेतीलाई अध्ययन केन्द्रका रुपमा पनि विकास गर्नृ सकिने सुवेदीले बताउनुभयो ।
९ नं वडा अध्यक्ष सुरेश मानन्धरले कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै वडाले कृषीमा लगानी गरेको बताउनुभयो ।
संक्रमणको समयमा भोकमरी हाहाकारको स्थितिलाई मध्यनजर गरेर उत्पादनमुखी कार्यको शुरुवात गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।
यस्तै, वीरेन्द्रनगर ९ नं वडाको शिव मन्दिर नजिकै कृषि तथा पशुपन्छी संकलन केन्द्र संचालनमा आएको छ ।
यूएनडिपीसंगको साझेदारीमा समाज जारण केन्द्र स्याक नेपालको पाँच लाख, वीरेन्द्रनगर नगरपालिकाको ३ लाख र करिब १ लाख स्थानीयको श्रमदानबाट संकलन निर्माण गरिएको हो । संकलन केन्द्रको पनि नगरप्रमुख देब कुमार सुवेदीले नै उद्घाटन गर्नु भएको छ ।
उद्घाटनपछि बोल्दै समाज जागरण केन्द्र स्याक नेपाल सुर्खेतका कार्यकारी निर्देशक टिकाराम आचार्यले संकलन केन्द्र बनेपछि स्थानीयलाई कृषि तथा पशु पंक्षी विक्रीका लागि सहज हुने बताउनुभयो ।