मान बहादुर कुँवर ।
जुम्ला, १५ माघ (रेडियो खुल्ला आकाश) । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका हुन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले क्षतीको विवरण संकलन गरिरहेको छ । माघ १३ गते राति ७ बजे तिला गाउँपालिकाको गुठी भन्ने गाउँमा आगलागी भएको थियो ।
यस गाउँका ५५ बढी घरमध्ये दुई वडाका ३० घर जलेर नष्ट भएका छन् । घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर टाढा निकै दुर्गममा भएकाले समयमै सुरक्षा निकाय पुग्न नसक्दा, स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले बताएका छन् । स्थानीयको बिचल्ली भएको छ । सुन्नुहोस अडियोमा ।
यसैबिच, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख कलौंनीले मंगलबार साँझपख भएको आगलागीबाट दुई दर्जन भन्दा बढी घर, पशुचौपाया, अन्नपात नष्ट भएको घटनाले आफुलाई निकै दुखित तुल्याएको बताउनुभएको हो ।
घटनास्थलमा पीडितलाई तत्काल राहत एवं पुनःस्थापनको आवश्यक व्यवस्था मिलाउन उहाँले संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहहरु र गैर सरकारी संस्थाहरुको ध्यानाकर्षण गराउनुभएको छ ।