अनियमितता भएको थाहा पाए सुचना दिन अख्तियारको आग्रह (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, १६ माघ (जागरण) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा चालु आर्थिक बर्ष २०७७–०७८ को छ महिनामा ८ सय ९७ वटा उजुरी दार्ता भएका छन ।
गत आर्थिक बर्षमा जम्मा एक हजार ८० उजुरी परेकोमा यस बर्ष भने छ महिनाको उजुरी दर हेर्दा भ्रष्टाचार एवं अनियमितताका उजुरी बढ्ने देखिएको कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
कार्यालयका अनुसार साउनयता पुस महिनासम्म परेका ती उजुरी मध्य आधा स्थानीय तहसंग सम्बन्धित रहेका छन् ।
स्थानीय तहमा संघीय मामिला मन्त्रालय अन्तर्गतका ३ सय ५० र शिक्षा तर्फका १ सय १३ गरी जम्मा ४ सय ६३ उजुरी परेको कार्यालयका प्रमुख नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकार अन्तर्गत २ सय २७ वटा उजुरी परेका छन् । प्रदेश सरकार अन्तर्गतका निकायहरुमा सबैभन्दा बढी उजुरी उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका छन् । मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य र आपूर्तिसंग सम्बन्धित ४७ र वन तथा वातावरण अन्तर्गत ३६ उजुरी परेको कार्यालय प्रमुख रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारका कार्यालय अन्तर्गत २ सय ७ उजुरी परेका छन् ।
भ्रष्टाचार र अनियमितता बिरुद्ध आयोगमा उजुरी बढे पनि आयोगको गति भने सुस्त देखिएको छ । वितेका छ महिनाको कामलाई हेर्दा आयोगको सुर्खेत कार्यालयमा परेका जम्मा उजुरीको २२ प्रतिशत मात्रै फछ्यौट गरेको छ ।
यसैबीच हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कसरी उजुरी गर्न सकिन्छ ? आयोगका सुर्खेत कार्यालय प्रमुख नारायण प्रसाद रिसालसँग कुराकानी सुन्नुहोस अडियोमा ।