सृजना बुढाथोकी ।
सुर्खेत १६ माघ (जागरण) । कोरोना संक्रमणको जोखिम अहिले पनि कायम रहेको भन्दै सतर्क रहन चिकित्सकहरुले सुझाव दिएका छन ।
जनस्वास्थ्य कार्यालय सुर्खेतले बिहीबार कोभिड सम्बन्धि हालसम्म भएको कार्य प्रगती समीक्षा र कोरोनाविरुद्धको खोप विषयमा गरिएको अन्तरक्रियामा चिकित्सकहरुले यस्तो सुझाव दिएका हुन ।
अहिले मानिसहरुको लापरवाही बढेको भन्दै अझैपनि संक्रमणको जोखिम कायम रहेकाले सतर्क हुनुपर्नेमा उनिहरुको जोड छ ।
शुरुवाती चरणमा प्रत्येक दिन ३ देखि १० जना सम्म सिरियस बिरामीहरुलाई आइसियुमा राख्ने गरिएको स्मरण गराउँदै उनिहरुले पछिल्लो समय भने केही घटेको जस्तो भएपनि संक्रमण जोखिम भने कायमै रहेको बताएका छन ।
तर कोरोना भइहाले आत्तिनुपर्ने अवस्था भने नभएको उनिहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर नवराज केसीले भ्याक्सिनलाई चरणबद्ध सबै नागरिकको पहुचमा पु¥याउन सकिए यसको नियन्त्रण हुने बताउनुभयो ।
उहाले कोभिड १९ को खोप लगाएपछि टाउको दुख्ने, हल्का ज्वरो आउने समस्या देखिन सक्ने भन्दै त्यसले केही असर नगर्ने बताउनुभयो । उहाले कोरोना भाइरस विरुद्धको भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको भनदै ढुक्क हुन आग्रह समेत गर्नुभयो ।
दैनिक जसो जनस्वास्थ्य कार्यालयमा कोरोना चेकजाच पहिलेकै तुलनामा भैरहेको बताउदै लक्षण भएका व्यक्ति परिक्षणको दायरामा रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।