सुर्खेत, २१ माघ (जागरण) । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् ।
गाउँपालिकामा रहेका एकल पुरुषले पटक–पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६÷७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरुलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष सिता ज्ञवालीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
विवाह नगरि बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।