सुर्खेतको चिङ्गाडमा बनेको विद्युत गृहसम्म आगामी ६ महिनाभित्र विद्युत पुर्याइने

सावित्रा उपाध्याय ।
सुर्खेत, २२ माघ (जागरण) । सुर्खेतको चिङ्गाड गाउँपालिकामा बनेको विद्युत गृहसम्म आगामी ६ महिनाभित्र विद्युत पुर्याइने गरी काम थालिएको छ ।
साथै उक्त गृहबाट दैलेख, जाजरकोट र सुर्खेतका ६ स्थानीय तहमा विद्युत पुर्याउन शुरु गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बुबैराखेसम्म विद्युतको तार र करेन्ट प्रवाह गर्ने काम भएको भन्दै विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले बिचमा जंगलले काममा केही ढीलाई भएको बताएको छ ।
६ महिनाभित्र विद्युत गृहसम्म विद्युत प्रवाह गरी आसपासका स्थानीय तहसम्म विद्युत वितरण गर्ने काम शुरु हुने विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख सुरेश अग्रहरीले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाका अनुसार विद्युत गृहबाटको काम गत साल नै सकिएको हो ।
११ केभीको काम प्रदेश सरकारले गरेको भन्दै उहाले ८ सय पोल गाडने काम अहिले भइरहेको बताउनुभयो । यस्तै, सामुदायिक विद्युतिकरण कार्यक्रम अन्र्तगत चिङ्गाड गाउँपालीकाले पनि पालिकाभर विद्युत विस्तारको लागि काम गरिरहेको छ ।
चिङ्गाड विद्युत संहकारीमार्फत सबै वडामा बत्ती बालिने गाउँपालिका उपाध्यक्ष मोहनमायाँ आचार्यले बताउनुभयो । उहाले जनताबाट केहि प्रतिशत सेयर लगानी भएको भन्दै सबै वडामा ६ महिनाभित्र जनताले बत्ती बाल्न पाउने बताउनुभयो ।
ग्रामीण विद्युत कार्यक्रम अन्तरगत गाँउपालीकाले एक करोड रकम विनियोजन गरेको छ ।