सावित्रा उपाध्याय ।
सुर्खेत, २७ माघ (जागरण) । चुलोचौकोमा मात्रै सिमित हुने कर्णालीका महिलाहरु अहिले विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्न थालेका छन ।
घरायासी काममा मात्र सिमीत हुने महिलाहरु व्यवस्था परिवर्तनसँगै सचेत बन्दै गएका हुन ।
अहिले महिलाहरु विभिन्न विकास निर्माणसँगै अन्य कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन थालेका छन ।
सरकारी तथा गैर सरकारी क्षेत्रबाट विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरिएपछि महिलाहरु पछिल्लो समय परिवर्तन हुँदै आफ्नो अधिकारका विषयमा समेत आवाज उठाउन थालेका छन ।
संविधानले पनि महिलाहरुको सहभागिता सुनिश्चित गरेको छ । त्यही अनुसार राजनितिक क्षेत्रमा पनि महिलाहरु सक्रिय बन्न थालेका छन ।
ग्रामीण क्षेत्रका महिलाहरुलाई आफ्नो अधिकारको बारेमा समेत जानकारी नभएको भन्दै सुर्खेत चिङ्गाड गाउँपालिकाका जैपुरा विकले अहिले आफ्ना अधिकारका विषयमा जानकार हुन थालेको कर्णाली रैबारसँग बताउनुभयो ।
उहाँ एउटा उदाहरण मात्र हो । कर्णालीका अधिकांस महिलाहरु अहिले राजनिति, आर्थिक र समाजिक क्षेत्रमा सक्रिय हुँदै गएका छन ।
विगतमा आफुलाई राजनितिको बारेमा केही थाहा नभएको बताउँदै सुर्खेत वराहाताल गाउँपालिका कार्यकापालिका सदस्य अमृता विकले अहिले राजनितिक क्षेत्रमा सक्रिय रहेको बताउनुभयो ।
महिलाहरु हरेक क्षेत्रमा जानकार हुँदै गएको भन्दै अझै सक्रियता बढाउन आफुहरु लागि रहेको उहाको भनाई छ ।
विभिन्न संघ संस्थासँगै तिनै तहका सरकारमा समेत प्रतिनिधित्व बढेको देखिन्छ । सरकारी सेवामा पनि महिला सहभागीता बढेको अधिकारकर्मीहरुले बताएका छन ।
विगतकोभन्दा महिलाहरु सक्षम बन्दै गएको भन्दै यो अपेक्षीत सहभागिता भने नभएको अधिकारकर्मीहरुको भनाई छ ।
यता, महिलाहरुलाई सचेत बनाउन विभिन्न कार्यक्रम संचालन गरिएको भन्दै ती कार्यक्रमहरु प्रभावकारी भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत यशुदा शर्माले ग्रामीण क्षेत्रका महिलाहरु पनि अहिले सचेत हुदै गएको बताउनुभयो ।