जुम्लाको निर्माणाधिन बहुउद्देश्यीय सभाहल ६ बर्षदेखि अलपत्र

दिलमायाँ शाही ।
जुम्ला, २७ माघ (जागरण) । जुम्लाको जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन नसकी अलपत्र बनेको छ ।
तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय र जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय जुम्लाले करिब निर्माण शुरु गरेको ६ बर्ष भइसक्दा पनि पुरा हुन नसकि अलपत्र बनेको हो ।
आधा निर्माण भइसकेको भवन पूरा नहुँदा भौतिक संरचना भत्किन थालेको छ ।
निर्माण हुदै गरेको सभाहल बजेट नभएपछि अलपत्र अवस्थामा पुगेको जनाइएको छ ।
२०७१ फागुन ४ मा सम्झौता भई ६ महिना म्याद थपसहित २०७४ भदौ ६ मा सम्पन्न हुने भनिए पनि अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको छ ।
६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता रकममध्ये तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनको निर्माण जिम्मा आशीष र थेगिम जेभी धनगढीले लिएको थियो ।
यस्तै, अपांग पुनर्स्थापना विकास केन्द्रको भवन पनि अलपत्र छ । तत्कालीन जिविसको २९ लाख रुपैयाँ स्टिमेट बजेटमा सुरु गरिएको केन्द्रको भवन बजेट अभावमा अलपत्र भएको हो ।
जिविस खारेज भएर बजेट विनियोजन नहुनु र नगरपालिकाले रकम नछुट्याउँदा निर्माणाधीन भवन अलपत्र भएको अपांग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले बताउनुभएको छ ।