बालबालिकाको क्षेत्रमा कर्णालीका केही स्थानीय सरकारका आशालाग्दा काम

टेकराज केसी ।
सुर्खेत, २९ माघ (जागरण) । कर्णालीका केही स्थानीय सरकारहरुले बालबालिकाको सुरक्षाको लागि आशालाग्दा कार्यक्रम संचालन गरेका छन ।
बालबालिका भविश्य सुनिश्चित गर्न सरकार नै जिम्मेवार हुनुपर्ने कुराको महशुसगरी त्यस्ता कार्यक्रम संचालन गरेका हुन् ।
गरिबीकै कारण शिक्षा, स्वास्थ्यको पहुँचबाट बञ्चित नहुन भन्नका लागि बालबालिकामैत्री कार्यक्रम संचालन गरेको सरकारहरुले जनाएका छन ।
प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले छोरी हुनुमा गर्भ छ कार्यक्रम मार्फत २०७४ यता जन्मिएका छोरीको बैंक खाता खोलि एक हजार रुपैँयाँ जम्मा गरिने गरेको छ ।
कार्यक्रम मार्फत अहिलेसम्म एक सय ७५ जना छोरीहरुको खाता नगरपालिकाले खोलिदिएको हो ।
यो कार्यक्रममार्फत महिला हिंसा कम गर्ने उद्देश्य रहेको भन्दै वीरेन्द्रनगर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सरला रेग्मीले यो कार्यक्रममा अविभावकको आकर्षण बढ्दै गएको कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै, जुम्लाको पातारासी गाउँपालिकाले पनि बालबालिकाको लागि हित कोष नामक कार्यक्रम बनाएको छ ।
कार्यक्रम अन्तरगत अविभावकको तर्फबाट तिनहजार र गाउँपालिकाको तर्फबाट ३ हजार रकम बैंकमा जम्मा गरिने गरेको पातारासी गाउँपालिकाले जनाएको छ ।
अहिलेको जस्तो गरिबीमा अहिलेका बालबालिका बाच्न नपरोस भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको भन्दै गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले २०७५ यता जन्मिएका ७५ प्रतिशत बालबालिका कार्यक्रममा आवद्ध भएको बताउनुभयो ।
उहाले यो कार्यक्रममा जोडिने बालबालिकाको आमा अस्पतालमा प्रसुती हुनुपर्ने भन्दै यसले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढाउन यस्तो मापदण्ड बनाइएको जानकारी दिनुभयो । कार्यक्रमको लागि पातारासीले चालु आर्थिक बर्षमा ५ लाख रकम छुट्याएको छ ।
यसैबिच, दैलेखको गुराँस गाउँपालिकाले पनि बालबालिकाको लागि जिवन सुरक्षा कोष नामक कार्यक्रम संचालन गरेको छ । २०७४ साउन यता जन्मिने बालबालिकाको उक्त कोषमा रकम जम्मा गरिने गरिएको गाउँपालिकाले जनाएको छ ।
अविभावको तर्फबाट ४ हजार र गाउँपालिकाको तर्फबाट १० हजार एउटा बच्चाको नाममा रकम जम्मा गरिने भन्दै २० बर्षपछि बालबालिका धनी हुने गाउँपालिका उपाध्यक्ष दीपा विसीले बताउनुभयो ।
उहाले रकम महिला सहकारीहरुमा जम्मा गरिएको बताउँदै ति सहकारीहरुले उद्यम गर्न चाहनेहरुलाई ऋण दिने गरेको बताउनुभयो ।
यो कार्यक्रममा ८ वटै वडाका ८ सय बालबालिका आवद्ध भएको भन्दै चालु आर्थिक बर्षको लागि मात्रै २५ लाख रकम विनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।