स्थानीय सरकारले लोकसेवा पढाउँदै

बुद्धी पुन ।
सल्यान, १ फागुन (रेडियो राप्ती) । कर्णालीका केही स्थानीय सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन थालेका छन । शिक्षा क्षेत्रमा लगानी बढाई बेरोजगारी समस्या हटाउने योजना स्थानीय सरकारको छ ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले निशुल्क रुपमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
लोकसेवा आयोगले लिने परीक्षामा स्थानिय युवायुवतीहरुलाई सक्षम बनाउन गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाभित्र स्थायी बसोवास भएका युवा तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत वजेट तथा कार्यक्रम अनुसार नायब सुबा र खरिदार तथा शिक्षक सेवा आयोगको प्रथम पत्रको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकाका नागरिकलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई छ ।
उहाँले स्थानिय स्तरमा नै लोकसेवाको तयारी गर्न सहजताको लागी यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा नै पहिलो पटक आफ्नो गाउँपालिकाले स्थायी रुपमा बसोबास गर्ने जनशक्तिलाई आफ्नै स्रोतमा आयोगको तयारीमा संलग्न वनाउने तयारी भैरहेको बताउनुभयो ।
गत बर्ष नै आयोगका कक्षा सञ्चालन गर्ने तयारी गरिएपनि बिबिध कारणले सफल हुन नसकेको र यस बर्ष मात्रै कक्षा सञ्चालनको लागी आबश्यक तयारी गरिएको उहाँको भनाई छ ।
तयारी कक्षामा सहभागिता हुनको लागी ५१ जनाले नाम दर्ता गरेको बताउनुभयो ।
लोकसेवा र शिक्षकसेवा आयोगका बारेमा जानकार बिज्ञ प्रशिक्षकद्धारा तयारी कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।