नन्द कठायत ।
सुर्खेत, ३ फागुन (जागरण) । नेपालकै ठुलो सुर्खेतको चौकुने गाउँपालिकामा रहेको चौकुने सिमेन्ट खानी संचालनको काम लामो समयसम्म पनि अगाडी बढ्न सकेको छैन ।
उद्योग संचालनको इजाजत अनुमतिपत्र पाएको लामो समय बितिसक्दा पनि काम अगाडी बढ्न नसकेको हो ।
गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्न मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको छ । पटक पटक म्याद थप्दा पनि उसले निर्माणको काम भने अगाडी बढाउन सकेको छैन ।
कम्पनीले हालसम्म गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी ०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा निकाल्ने बाहेक अरु काम गरेको छैन ।
काम अगाडी नबढाएको भन्दै स्थानीयले कम्पनीसँगको सम्झौता खारेज गरी काम अगाडी बढाउन माग गर्दे आएका छन ।
चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले पछिल्लो समय कम्पनीले काम अघि नबढाइ पटक÷पटक म्याद मात्र थप्दै आएको भन्दै आफुहरुले खबदारी गरिरहेको कर्णाली रैबार मार्फत बताउनुभयो ।
उद्योगका संचालक अजय सुमार्गीसँग समन्वय गरेपनि पछिल्लो समय विभिन्न समस्या देखाउदै टार्ने गरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताउनुभयो । उहाले उद्योग संचालनमा ल्याउन नसक्ने कम्पनीको सम्झौता खारेज गरी काम अगाडी बढाउनुपर्ने सुझाव दिनुभयो । सात बर्षदेखि खानीको काम होल्ड गरिएको छ । तर काम भने अगाडी बढ्न सकेको छैन् ।
यता कर्णाली प्रदेश सरकारले भने ठुला उद्योगहरुको पहुँच मार्ग सुधारको लागि गत आर्थिक वर्ष कार्यक्रम राखेपनि चालु आर्थिक वर्षमा कुनै पनि कार्यक्रम नरहेको जनाएको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रबक्ता शेर बहादुर रोकायाले ठुला उद्योगहरु संचालनका लागि कर्णालीमा आकर्षित हुन नसकेको बताउनुभयो ।