फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माण कार्य तीब्र

सुर्खेत, ६ फागुन (जागरण) । कर्णालीकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको रूपमा लिइएको फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्यले तीव्रता पाएको छ । कर्णालीकै गौरवको आयोजनाका रूपमा हेरिएको हाइड्रोको निर्माणकार्यले तीव्रता पाएसँगै कालीकोट ऊर्जाको हबका रूपमा विकास हुने भएको हो ।
हालसम्म बिजुलीको राष्ट्रिय प्रसारण लाइनले समेत नछोएको कालिकोटमा मुलुककै ऊर्जा क्षेत्रमा योगदान दिने गौरवको आयोजना निर्माण थालिँदा स्थानीय नागरिक पनि हर्षित भएका छन् ।
सान्नीगाड साना जलविद्युत् आयोजना बाढी र पहिरोमा परेर बर्सेनि अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य कालिकोटका नागरिक फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्य सुरु भएपछि उत्साही छन् ।
कोरोना भाइरसका कारणले निर्माणकार्यमा ढिलाइ भएको यो हाइड्रोको एक सय मिटरभन्दा बढी सुरुङ खन्ने काम सकिएको आयोजना प्रमुख हिरावान वाइवाले बताउनुभयो । उहाँका अनुसार आयोजनाको कुल लागत एक खर्ब रहेको छ ।