सुर्खेत, ९ फागुन (जागरण) । केही विद्यालयमा खेताला शिक्षक राखेर दरबन्दीवाला शिक्षक अनियमित
कालिकोटको शुभकालिका गाउँपालिकाका केही विद्यालयमा खेताला शिक्षक राखेर दरबन्दीवाला शिक्षक अनियमित हुने गरेको पाइएको छ ।
विद्यालयमा आफू नियमित नआउने र सट्टामा राखेका शिक्षक पनि नियमित नहुने गरेको विद्यार्थीको गुनासो छ ।
शुभकालिका गाउँपालिकाको महादेव मावि राराकाटियामा अध्यापन गराउने अधिकांश शिक्षक खेताला रहेको पाइएको हो ।
आफ्नो सट्टामा आफ्ना नजिकका मान्छेलाई राखेर सरकारी सेवा–सुविधा आफूले लिने गरेका छन ।
महादेव माविमा अध्यापन गराउँदै आएका सामाजिक विषयका शिक्षक सुरेन्द्रबहादुर शाहीले आफन्त परेकबहादुर शाहीलाई सट्टामा राखेर आफू सुर्खेत बस्दै आएका अविभावकले जनाएका छन ।
१ महिना अघिदेखि सट्टामा राखेका शाही अहिलेसम्म विद्यालयमा उपस्थित हुनुभएको छैन ।
उहा मात्र होइन, उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक नियमित विद्यालयमा नआउने आएपनि १ महिनाको हाजिरी एकै पटक गरेर सरकारी सेवा सुविधा हड्पने गरेका पाइएको छ ।
वडा कार्यालयले तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक राखी यस विषयमा सोधखोज गर्ने जवाफ दिएको छ ।
शुभकालिका गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर शाहीले प्रधानाध्यापकलाई तत्काल विद्यालयमा बोलाएर यस विषयमा छलफल गर्ने बताउनुभएको हो ।
शिक्षकहरु उपस्थित नहुँदा पठपाठन गुणस्तरिय नभएको विद्यार्थीहरुको गुनासो छ ।