खेतीयोग्य जग्गा दिनुपर्ने दैलेखका वादी समुदायको माग

सुर्खेत, १२ फागुन (जागरण) । जग्गाको व्यवस्था गरिदिन माग गर्दै प्रदेश सरकारको सरणमा आएका वादी समुदायका व्यक्तीहरुले जमिनको व्यवस्था नहुन्जेल आफुहरु नफर्कीने अडान लिएका छन् ।
आफुहरुको जग्गा नहुँदा हातमुख जोड्न समस्या भएको भन्दै प्रदेश सरकारले जग्गा उपलब्ध नबनाएसम्म आफुहरु नफर्किने अडान लिएका हुन ।
आज कर्णाली प्रदेश सरकारका आन्तिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँगको भेटमा उनिहरुले जग्गा उपलब्ध गराइदिन माग गरेका हुन ।
मन्त्री भण्डारीले भने जमिनको व्यवस्था संघ र स्थानीय सरकारको क्षेत्रअधिकारभित्र पर्ने भन्दै जग्गा उपलब्ध बनाउन प्रदेश सरकारले नसक्ने जवाफ दिनुभएको छ ।
मन्त्री भण्डारीले सीमित साधन श्रोतको कारण व्यवस्थापन गर्न गार्हो भएको बताउनुभएको हो ।
मन्त्री भण्डारीले समस्या समाधानका लागि तथ्याङ्क संकलन गर्ने प्रतिवद्धता भने व्यक्त गर्नुभयो ।
वादी समुदायका करिब दुइसय जना व्यवस्थित बसोबासको माग गर्दै हिजो राती मुख्यमन्त्री कार्यालय अगाडी धर्ना समेत बसेका थिए । उनिहरु दैलेखबाट पैदल यात्रा गरेर सुर्खेत आइपुगेका हुन् ।