सुर्खेत, १६ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न युवाहरुले ‘साझा अभियान’ थालेका छन् ।
जिल्लास्थित विभिन्न संघ–संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले वीरेन्द्रनगरको सरसफाइमा साझा प्रतिवद्धता जनाएका हुन् ।
अभियानअन्तर्गत आज राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्र सरसफाइ गरिएको छ ।
प्रदेश सरकारले क्वारेन्टिन हटाएको दुई महिना बित्दा पनि उक्त क्षेत्रको सरसफाइ हुन सकेको थिएन । फोहोर उठाउने युवाहरुले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरेका छन् ।
फोहोर उठाउने काममा वीरेन्द्रनगर नगरपालिकाले पनि सहयोग गरेको साझा अभियानका संयोजक अनिल ढकालले बताउनुभयो ।
प्रदेश राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली सहरको परिचय दिन सरसफाइ अभियान थालिएको संयोजक ढकालले जानकारी दिनुभयो ।
तीन वर्षदेखि वीरेन्द्रनगरमा ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान सञ्चालन गर्दै आएका डा. नवराज केसीले भने बाहिर देखिने फाहोर मात्र नभई फोहोरी मानसिकतालाई पनि सफा गर्नुपर्ने बताउनुभयो ।