ठुलो मात्रामा अवैध जडिबुटी नियन्त्रण

सल्यान, १६ फागुन (जागरण) । सल्यान प्रहरीले ठुलो मात्रामा अवैध जडिबुटी नियन्त्रणमा लिएको छ । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेका दुई ट्रकलाई सल्यान सल्ली बजारमा जाँच गर्दा ठूलो परिणामको जडिबुटी फेला परेको हो ।
ती ट्रकबाट ७ हजार ७ सय ५८ किलो जडीबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको प्रहरीले जानकारी दिएको छ ।
छुट पुर्जी बेगरको सबै जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको हो । सुगन्धवाला (समायो), विषफेज, अमला, काउलो र चुत्रोका बोक्रा गरी ७ हजार ७ सय ५८ किलो जडिबुटी अवैध तरिकाले पैठारी हुन थालेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिनुभयो ।
जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कविहीन भएका छन् । ट्रकचालक तुलाराम थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।