जाजरकोट, १७ फागुन (जागरण) । जाजरकोटका ग्रामीण सडकमा यातायात व्यावसायीहरुले मनपरी भाडा असुल्दा यात्रुहरु मर्कामा परेका छन् ।
अधिकांश स्थानीय तहले निर्माण गरेका सडक खण्डहरुमा निजी यातायातले चर्काे भाडा लिएपछि स्थानीय मर्कामा परेका हुन् ।
ती सडकहरुमा सवारी साधान सञ्चालन अनुमति रुटपरमिट समेत नलिएरै गाडीहरु चलाउने गरिएको छ । रुट परमिट भएका सडकमा जिल्ला प्रशासन कार्यालयले भाडा निर्धारण गरेको भएपनि ग्रामीण क्षेत्रमा भने भाडादर लागु भएको छैन ।
रुटपरमिट लागु नभएका सडकमा मनपरी भाडा असुल्दै आएपनि स्थानीय तह र प्रशासन भने मौन छन् । जुनीचाँदे गाउँपालिका ८ का गोविन्दबहादुर थापाले खलंगा देखि गाउँपालिका सम्म एक तर्फ भाडा २ हजार तिर्ने गरेको बताउनुभयो ।
उनीहरु मात्र होइन् पश्चिम जाजरकोटमा निर्माण गरिएका नयाँ सडकहरुमा यातायात व्यवसायले पनि मनपरी भाँडा असुल्दै आएको स्थानीयको गुनासो छ ।
खलंगा देखि पाँचकाटिया सडक खण्डमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्धारण गरेको भाडाडर तिरे पनि पाँचकाटिया देखि गाउँपालिकाको केन्द्र सम्म निजी जिपहरुले मनपरी भाडा असुल्दै आएको स्थानीय अशोक सिंहले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले रुटपरमिट भएको सडकमा २०७७ कार्तिक ५ गते नयाँ भाडादर तोकेको थियो ।
प्रमुख जिल्ला अधिकारी चेतराज वरालले गाउँपालिका बाट कुनै खालको जानकारी नआएको प्रतिक्रिया दिनुभएको छ । यस सम्बन्धी बुझेर कारवाही पक्रिया अगाडी बढाइने उहाले बताउनुभएको छ ।