मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण

सल्यान, १८ फागुन (जागरण) । पानीको मुहान सुक्न थालेपछि सल्यानमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ । पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो ।
पानीका मुहना संरक्षण र वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिनुभयो ।
डढेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यन्तै महत्व रहेको उहाले बताउनुभयो ।
पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानको संरक्षणमा मद्दत पुग्नुका साथै जंगली जनावरलाई पिउने पानीको आपूर्तिसमेत भइरहेको स्थानीय चन्द्रप्रकाश शर्माले बताउनुभयो ।
पोखरी निर्माणले पोखरी आसपासमा चिस्यान कायम भई बोटबिरुवा हुर्कन मद्दत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव परेको उहाको भनाइ छ ।
बागचौर नगरपालिकामा मात्रै विभिन्न स्थानमा २० वटा रिचार्ज पोखरी निर्माण गरिएको बागचौर नगरपालिका–३ का वडाध्यक्ष टीकाराम केसीले बताउनुभयो ।
पानीका मुहान र पर्यावरण संरक्षणमा रिचार्ज पोखरी निकै प्रभावकारी देखिएको केसीको भनाइ छ ।