दश बर्षसम्म पनि जल विद्युत आयोजना निर्माण भएन

कालि बहादुर नेपाली ।
जाजरकोट, १८ फागुन (जागरण) । जाजरकोटको बारेकोट गाउँपालिकामा निर्माण गर्न लागेको जल विद्युत आयोजना निर्माण शुरु गरेको दश बर्षसम्म पनि निर्माण हुन सकेको छैन ।
बारेकोट—४ जिरीमा २०६८ सालमा निर्माण थालिएको ३२ किलोवाट क्षमताको अँध्यारी खोला लघु जलविद्युत आयोजनाको निर्माण अलपत्र परेको हो ।
आयोजना अलपत्र परेपछि चार सय घर परिवारको बषौं देखिको बत्ति बाल्ने सपना अधुरै रहेको छ ।
स्थानीय मैनबत्ती, सोलार, टुक्की र सल्लाको दियालो बालेर गुजरा चलाउन बाध्य छन् । आर्थिक अभाव, भौगोलिक विकट्ता, उपभोक्ता समितिको चरम लापरवाही लगाएत कारण आयोजना अलपत्र परेको हो ।
दुई बर्षमा नै निर्माण सम्पन्न गर्नुपर्ने आयोजना अलपत्र पर्दा लम्क, जिरी, मैना, रावत जिरी, पातल जिरी, गोठगाउँ, मैना, धह लगाएत गाउँका चार सय घर परिवार अध्यारोमा बस्न बाध्य छन् । आयोजना समयमा नबन्दा निर्माण सामग्रीहरु अलपत्र परेका छन् ।
निर्माण जिम्मा लिएको उपभोक्ता समितिका पदाधिकारीको लापरवाहीले आयोजना निर्माण हुन नसकेको स्थानीयको भनाई छ । काम अलपत्र पर्दा करोडौंको सरकारी लगानी बालुवामा पानी जस्तै भएको स्थानीय तिलक रावतले जानकारी दिनुभयो ।
आयोजनाको ८० प्रतिशत काम पुरा भइ सकेको छ । आयोजना निर्माणमा भौगोलिक विकटता, लागत अनुसारको रकमको अभाव भएकोले योजना सम्पन्न हुन नसकेकोे वडा नम्बर ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताउनुभयो । आयोजना पुरा गर्न अझै ६० लाख रकम आवश्यक पर्ने उहाँले बताउनुभयो ।
आयोजना निर्माणका लागि बैकल्पिक उर्जा प्रर्वधन केन्द्र, तत्कालिन जिल्ला विकास समिति, नायकवाडा गाविस र हालको गाउँपालिका लगाएतको दुई करोड बढी रकम खर्च भई सकेको छ ।
बैकल्पिक उर्जाले ८० प्रतिशत र अन्य स्थानियबाटै ब्यहोर्ने गरी आयोजनाको सम्झौता भएको थियो । तर स्थानिय स्रोत नजुट्दा समस्या भएको हो ।