राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठन गर्दै

सुर्खेत, १९ फागुन (जागरण) । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताउनुभयो ।
प्रदेश सरकारले राउटे समुदायलाई संघले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा प्रतिव्यक्ति दुई हजार रूपैयाँ थप्ने निर्णय गरिसकेको छ । मुख्यमन्त्री शाहीले राउटे समुदायको सुरक्षाका लागि तत्काल प्रहरी परिचालन गरिने पनि बताउनुभयो ।
उहाँले कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्तकुमार पन्तलाई फोन गरेर राउटे समुदाय रहेको स्थानको सुरक्षाका लागि प्रहरी खटाउन आग्रह समेत गनुभयो ।
अत्याधिक मदिराका कारण राउटे समुदायको जनसंख्या घट्दै गएकाले प्रहरी परिचालन गरेर मदिरा नियन्त्रण र बस्तीको सुरक्षा गर्न लागिएको मुख्यमन्त्री शाहीको भनाइ छ ।