कोरोनाविरुद्धको दोश्रो चरणको खोप अब प्रत्येक स्वास्थ्य संस्थाबाट

सुर्खेत, १९ फागुन (जागरण) । कर्णालीका ७९ वटै पालिकाका स्वास्थ्य संस्थाबाट दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार दोस्रो चरणको कोरोना विरुद्धको खोप सबै पालिकाका स्वास्थ्य संस्थाबाट लगाइने भएको हो ।
त्यसको लागि आवश्यक तयारी पुरा भएको निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै, दैलेखमा २ सय ५२ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले खोप अभियानलाई तीव्रता दिन जिल्लाका ११ वटै स्थानीय तहमा खोप केन्द्र तोकेको हो ।
दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदैछ । यसका लागि कार्यालयले २ सय ५२ वटा खोप केन्द्र सञ्चालन गर्ने भएको हो ।
यस्तै, वितेको २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ७२ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् ।