खानेपानीको संकट चुलिदै

सुर्खेत, १९ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । डेढ लाखको हाराहारी जनसंख्या रहेको वीरेन्द्रनगर उपत्यका प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनघनत्वका कारण वर्षेनी खानेपानीको समस्या झेल्दै आएको छ ।
अबदेखि वीरेन्द्रनगरका उपभोक्ताले ४८ घण्टापछि मात्रै धारामा पानी पाउने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाले हाल नगरका १९ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।
३५ हजार उपभोक्ताले नयाँ धारा जडान गर्न आवेदन दिएका छन् । तर, मागअनुसार पानीको आपूर्ति नभएपछि नयाँ धारा वितरण गर्न नसकिएको संस्थाले बताएको छ ।
संस्थाका अनुसार वीरेन्द्रनगरमा हाल प्रतिसेकेन्ड २ सय ६७ लिटर पानीको माग छ । तर, १०० लिटर मात्रै पानीको आपूर्ति हुँदै आएको छ ।