फेरियो जिवन 

सावित्रा उपाध्याय ।
सुर्खेत, २२ फागुन (जागरण) । छिटन हमाल सुर्खेत वीरेन्द्रनगर ११ निवासी हुनुहुन्छ । गरिबी जिवन विताइरहनुभएका उहाको परिवार २० वर्ष पहिले २०५७ सालमा सुख सुविधा खोज्दै जुम्लाबाट सुर्खेत झरेको थियो । सुर्खेतमा सुविधा सम्पन्न जिवन बिताउने रहर पालेका उनिहरुको परिवारले रहरलाई पुरा गर्न सकेन । तर लामो संघर्षपछि त्यो परिवार अहिले सुखमय जीवनमा परिवर्तन भएको छ । परिवारको लालनपालनको लागी छिटनका श्रीमानले घुमन्ते व्यपार गर्नुहुन्थ्यो । जसोतसो जीवन चलिरहेको थियो । त्यतीकैमा छिटनका श्रीमानको हृदयघातका कारण मृत्यु भयो । त्यसपछिका दिनहरु उहाँका झन पिडादायी हुन पुगे ।
४ जनाको परिवार पाल्न उहालाई हम्मे हम्मे भयो । जिवनका हरेक दुखदायी क्षणमा साहसका साथ खटने छिटनका श्रीमानको मृत्युपछि सहज जिवनयापनका लागी निरन्तर संघर्षमा लाग्नुभयो । सुर्खेत वीरेन्द्रनगरको गंगामाला देउती बज्यै मन्दिर अगाडि बिहान घुम्तीमा पुजाको सामान बेच्ने र दिनमा ज्यालामजदुरी गरि उहाले दुई छोरा र आफु सहित तिनजनाको परिवार पालन पोषणसँगै छोराछोरीको पठनपाठन गराउनुभयो । शुरु शुरुमा दैनिक ३ सय मात्र कमाइ हुने उहाँको व्यापार अहिले मासिक ३० हजारसम्म कमाइ हुने गरेको भन्दै संघर्ष गरे जीवनमा सफलता हात पार्न सकिने उहा बताउनुहुन्छ । उहाँका छोराहरु अहिले उच्च शिक्षामा अध्ययनरत समेत छन । दुखमा धेरै आत्तिन नहुने भन्दै उहाले जीवनलाई संघर्षमय गराउनुपर्ने उहाको सुझाव छ । छिटन हमाल जस्तै जीवनलाई संघर्ष सम्झिने हो भने र त्यही अनुसार काम गर्ने हो भने सफलता प्राप्त गर्न कुनै समस्या छैन ।