पंखबहदुर शाही
सुर्खेत, २४ फागुन (जागरण)
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्याल अगाडीको खुल्ला चौरमा धर्नामा बसिरहेका वादी समुदायका अधिकाँश नागरिकलाई सरुवा रोग सम्बन्धीका समस्याहरु देखिएको छ ।
खेतीपाति गरिखाने जमिन दिनुपर्ने माग गर्दै १४ दिनदेखि धर्नामा बसेका अधिकांसलाई छाला सम्बन्धीका रोगहरु, रुघा खोकी ज्वरो, दम बढ्ने जस्ता समस्या देखिएको हो । खाना र सरसफाईको अभावमा उनीहरुमा यस्ता खालका समस्याहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
जनस्वास्थ्य कार्यालय सुर्खेतले आज उनीहरु बसेको स्थानमा स्वास्थ्य शिविर चलाएको छ । जसमा दाद, लुतो, घाउखटिरा आउने जस्ता रोगका बिरामीहरु धेरै भेटिएको कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर प्रदिप न्यौपानेले बताउनुभयो ।
झण्डै ५ सयको हाराहारीमा रहेका उनीहरु मध्ये धेरै जसोमा व्यक्तिहरुमा पेटदुख्ने, ग्यास्ट्रिक, आँसु बग्ने, महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएको डाकटर न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार दम, मधुमेह, उच्च रक्तचाप, लगायतको समस्या भएका वृद्धवृद्धाहरुमा अव्यवस्थित बसाइले समस्या बढेको छ ।
यउटै पालमुनी सबै परिवारहरु बस्नुपर्ने, खानेपानी, शौचालय र सरसफाइको अभावमा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर बढ्दै गएको डा विद्यता भट्टाइले बताउनुभयो ।
स्वास्थ्य शिविरमा दुई सय दश जनाको स्वास्थ्य जाँच गर्नुका साथै बिरामीहरुलाई औषधी वितरण गरिएको जन स्वास्थ्य कार्यालयका सिनियर अहेब अमर रानाले जानकारी दिनुभयो । जाँच गरिएका मध्य दश जनालाई थप उपचाका लागि कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको रानाले बताउनुभयो ।