जाजरकोटमा अज्ञात रोगः ठूलो संख्यामा कुखुरा मर्न थालेपछि कृषहरु चिन्तित

कालि बहादुर नेपाली ।
जाजरकोट, २६ फागुन (जागरण) । जाजरकोटमा बर्ड फ्लु जस्तै लक्षणदेखिने रोगबाट ठूलो संख्यामा कुखुरा मर्न थालेका छन् । नलगाड नगरपालिका–३ बिना पुनले भेरी नगरपालिका–३ स्यालामा रहेको फर्ममा पालिएका कुखुरा अज्ञात रोगका कारण मरेका हुन् ।
दुई हप्ताको समयमा ८ सय ५० भन्दा बढि कुखुरा मरिसकेको फर्म संचालक पुनले जानकारी दिनुभएको छ । फर्ममा बर्ड फ्लु संक्रमणका लक्षणहरु देखिएपछि आफुहरुले पशु अस्पताल तथा पशु सेवा कार्यालय र नगरपालीकाको पशुपन्छी शाखामा जानकारी दिएपनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको पुनले गुनासो गर्नुभएको छ ।
जाजरकोटमा बर्ड फ्लुको संक्रमण फैलिएको आफुलाई कुनै जानकारी नभएको भेरी नगरपालिकाको पशुपन्छी शाखा प्रमुख रत्न डाङ्गीले बताउनुभयो ।
यता जाजरकोट जिल्लामा कुखुरा पालन व्यवसाय संचालन गरेका किसानहरुको फर्ममा कुखुराहरु मरेको भएता पनि बर्ड फ्लुकै संक्रमण हो भनेर पुष्टी भई नसकेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भर्कीले बताउनुभएको छ । ल्याप परिक्षणको लागि स्यालामै रहेको एक किसानको फर्मबाट नमुना पशुपन्छी प्रयोगशाला सुर्खेत पठाएको जानकारी उहाँले जानकारी दिनुभएको छ ।