सुर्खेत, १ चैत (जागरण) ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्ने योजना ल्याएको छ ।
निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्न लागेको हो । एउटा गाडीमा एक्सरे, ल्याब, औषधीसहित एकजना मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टोली हुनेछ जुन राजमार्गमा निरन्तर ओहोर दोहोर गरिरहनेछ । यसैलाई मोवाइल अस्पताल भनिएको छ । मोवाइल अस्पतालमा एक जना डाक्टर एक जना नर्स र एक जना सहयोगीको टिम रहनेछ । सडक दुर्घटनाका घाइते, राजमार्ग आसपासका वस्ती र स्वास्थ्य संस्थाहरुबाट रेफर गरिएका विरामीको ज्यान जोगाउनका लागि मोवाइल अस्पताल उपयोगी हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्का बताउँछन् । ‘अहिले राजमार्गमा हुने दुर्घटना र स्वास्थ्य संस्थाबाट रेफर गरिएका विरामीहरुले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था कर्णालीमा छ’ निर्देशक खड्काले भने‘राजमार्गमा घुमिरहकने मोवाइल अस्पताल भयो भने धेरै हदसम्म सहयोग पुग्नेछ ।’ मोवाइल अस्पतालको योजना निर्देशक खड्काले नै अगाडी सारेका हुन् । जसका लागि चालु आर्थिक बर्षमा सामाजिक विकास मन्त्रालयले डेढ करोड बजेट समेत विनियोजन गरेको छ । उक्त बजेटबाट दुई वटा ट्रक खरिदगरी त्यसमा अस्पतालको सेटिङ्ग गरिने निर्देशक डा.खड्काले बताए । ‘मोवाइल अस्पतालका लागि डेढ करोड मन्त्रालयले छुट्याएको छ त्यसबाट दुईवटा ट्रक किन्ने हाम्रो योजना छ’ डा खड्काले भने,‘हामीले इन्जिनियरलाई डिजाइन पनि गर्न लगाइसकेका छौँ एउटा ठूलो ट्रकमा चार वटा कोठा हुनेछन र त्यसभित्रै ल्याब,विरामी जाँच्ने बेड, शौचालय पनि हुनेछ ।’
दुई वटा मोवाइल अस्पताल मध्य एउटा कर्णाली प्रदेश अस्पताल र अर्काे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गर्ने निर्देशनालयको योजना छ । भौगोलिक विकटताका कारण कर्णालीमा स्वास्थ्य संस्था टाढा–टाढा छन् । दुर्घटनामा परेर भन्दा समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था छ । टाढाका अस्पताल पु¥याउनजेल सामान्य उपचार नपाएर बिरामीको ज्यानै जाने गरेको छ । यसैलाई मध्यनजरगरी मोवाइल अस्पतालबाट तत्कालै सेवा दिने योजना निर्देशनालयको रहेको छ । कुन समयमा मोवाइल अस्पताल कुन स्थानमा छ भन्ने थाहा पाउनका लागि गाडीमा जिपिएस प्रविधि जडान गरिने छ । त्यसकै आधारमा नजिकका स्वास्थ्यकर्मीहरुले मोवाइल अस्पताललाई बोलाउने वा विरामीलाई त्यहाँ पठाउने छन् ।
एम्बुलेन्समा जिपिएस जडान गर्ने योजना
भूगोलका हिसाबले सबैभन्दा ठूलो कर्णाली प्रदेशमा वस्तीहरु छरिएर रहेका छन् । जसले गर्दा नागरिकले आकस्मिक उपचारका लागि एम्बुलेन्स सेवा लिन कठिन छन् । एकातिर अस्पताल र स्वास्थ्य संस्थादेखि बस्तीहरु टाढा हुने र अर्काेतिर नजिकमा कुन एम्बुलेन्स छ भन्ने थाहा नपाउदा छरितो रुपमा एम्बुलेन्स सेवा लिन कठिन भैरहेको छ ।
यस्तो समस्या हटाउनका लागि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देश डा. रविन खड्काले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने योजना बनाएका छन् । त्यसका लागि डा. खड्काले व्यक्तिगत रुपमै पहल गरिरहेका छन् । ‘हाम्रोमा टाढा टाढा वस्ती छन् एम्बुलेन्स कम छन समयमै एम्बुलेन्स सेवा लिन नपाउने अवस्था छ’ डा. खड्काले भने,‘नागरिकले आफ्नो नजिकमा कुन एम्बुलेन्स छ भन्ने थाहा पाएर फोन गर्न सजिलो होस भन्नका लागि सबै एम्बुलेन्समा जिपिएस जडान गर्ने योजना छ ।’ एम्बुलेन्समा जिपिएस जडानका त्यससम्बसम्बन्धी जानकार कम्पनीसंग बुझ्ने काम भैरहेको डा ख्काले बताए । अब चाँडै एम्बुलेन्स सञ्चालकहरुसंग छलफल गरेर जिपिएस जडानको प्रक्रिया अगाडी बढाइने उनले बताए ।