पंख बहादुर शाही ।
सुर्खेत, १ चैत (जागरण) । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको दाबी गर्नुभएको छ ।
संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको वलिदानी दिएको बताउँदै रावतले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताउनुभयो ।
कर्णाली उत्सव कुडा कर्णालीको आज अन्तिम दिन ‘मुख्य मान्ठ मूल कुडा ’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री रावतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई हेर्ने दृष्टीकोण फरक रहेको टिप्पोणी गर्नुभयो ।
संघीयता भनिएपनि अधिकार सबै संघीय सरकारको हातमा भएकाले प्रदेशमा संघीयता कार्यान्वय गर्न कठिन भएको रावतले बताउनुभयो ।
संघीय सरकारका विरुद्ध ७÷८ वटा मुद्धा दिएको जानकारी गराउँदै मुख्यमन्त्री रावतले त्यी सबै संघीयताको सबलिकरण अथवा कार्यान्वयनको पक्षमा भएको पनि दावी गर्नुभयो ।
रावतले संविधानमा उल्लेख गरिएका सबै कुरा आफुहरु मान्न तयार रहेको पनि बताउनुभयो ।
यद्यपी, सामानुपातिक समावेशिता अझै नभएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री रावतले आफ्नो प्रदेशले सञ्चालनमा ल्याएका केही लोकप्रिय कार्यक्रमको सिको कर्णाली प्रदेशले गर्नुपर्नेमा जोड दिनुभयो ।
आजको कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र २ नम्बर प्रदेशका मुख्यमन्त्री बीच वहस हुने भनिएपनि कर्णालीका मुख्यमन्त्री भने कार्यक्रममा सहभागी भएनन् ।
कारणवस उनी पार्टीको कामका लागि काठमाडौँ गएको आयोजक समितिले जनाएको छ ।